बाँके । डुडुवा गाउँपालिकामा ५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। गाउँपालिका–२ बेतहनीस्थित स्वास्थ्य केन्द्रमा निर्मित भवनबाट अस्पतालले औपचारिक रूपमा सेवा सुरु गरेको हो।
अस्पतालको नेतृत्व मेडिकल अधिकृत डा. रामगोपाल तिवारीले गर्नुभएको छ भने १८ सदस्यीय स्वास्थ्यकर्मी टोलीमार्फत चौबिसै घण्टा सेवा सञ्चालन गरिएको छ। अस्पतालमा आधुनिक प्रयोगशाला, औषधि बिक्री कक्ष, एक्स–रे, भिडियो एक्स–रे लगायतका सेवा उपलब्ध रहेको जनाइएको छ।
सरकारले निर्धारण गरेको मापदण्डअनुसार विपन्न, गरिब, असहाय तथा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र औषधि वितरण गरिने व्यवस्था गरिएको छ। अन्य सेवाग्राहीका लागि भने सहुलियत दरमा उपचार सेवा उपलब्ध गराइने अस्पताल प्रमुख डा. तिवारीले जानकारी दिनुभयो।
डुडुवा गाउँपालिकाले यससँगै घरदैलो स्वास्थ्य सेवा अभियानलाई पनि निरन्तरता दिँदै समुदायस्तरमै स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
