धनगढी । निर्माण व्यवसायी संघ कैलालीले इन्धनजन्य सामग्री र निर्माण सामग्रीमा भइरहेको लगातार मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारसँग ‘आपतकाल’ घोषणा गर्न माग गरेको छ।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संघले मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल र मट्टितेललगायत इन्धनको मूल्य पटक–पटक बढ्दै गएको र त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको जनाएको हो। संघका अध्यक्ष टेकबहादुर मल्लका अनुसार बिटुमिन, सिमेन्ट, डण्डी जस्ता अत्यावश्यक निर्माण सामग्रीको मूल्य पनि निरन्तर बढिरहेको छ भने कतिपय सामग्री बजारमा अभावसमेत देखिन थालेको छ।
संघले क्रसर उद्योगमा देखिएको समस्याले पनि निर्माण कार्य थप प्रभावित बनाएको उल्लेख गरेको छ। यसरी समग्र निर्माण क्षेत्र नै ठप्प हुने अवस्थामा पुगेकाले तत्काल सरकारी हस्तक्षेप आवश्यक रहेको संघको भनाइ छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष (सुदूरपश्चिम भूगोल) प्रकाश सेठीले निर्माण कार्यको मूल्य समायोजन प्रायः राष्ट्र बैंकको मूल्य सूचकांकका आधारमा हुने भएकाले वास्तविक बजार मूल्य वृद्धि समायोजन नहुँदा व्यवसायीहरू ठूलो मारमा परेको बताए। उनले सरकारलाई तत्काल समाधानका उपाय अपनाउन आग्रह गरे।
संघले निर्माण कार्य तीव्र हुने समयमा इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले ठूलो आर्थिक भार परेको भन्दै निर्माण उद्योगमा तत्काल ‘आपतकाल’ घोषणा गरी राहत उपलब्ध गराउन माग गरेको छ।
साथै, वास्तविक मूल्यवृद्धिअनुसार मूल्य समायोजन सुनिश्चित गर्न ‘मूल्य समायोजन मार्गदर्शिका–२’ तुरुन्त जारी गर्न र सबै प्रकारका ठेक्कामा मूल्य समायोजन लागू गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
