विराटनगर । इटहरी यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुख सतिस सत्याललाई लागिएको आर्थिक लेनदेन र ‘सेटिङ’ सम्बन्धी आरोपमा गरिएको छानबिनबाट ‘क्लिन चिट’ दिइएको छ।
लाइसेन्स परीक्षामा अनुत्तीर्ण व्यक्तिहरूलाई आर्थिक लेनदेन र सेटिङका आधारमा उत्तीर्ण गराइएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। उक्त उजुरीपछि कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिको संयोजक उर्मिलादेवी निरौलाका अनुसार छानबिनका क्रममा कार्यालय प्रमुखको संलग्नताको ठोस प्रमाण फेला नपरेको र उजुरीमा उल्लेख गरिएजस्तो सेटिङ तत्काल पुष्टि नभएको प्रतिवेदन मन्त्रालयमा बुझाइएको छ।
यसअघि उजुरीका आधारमा सत्याललाई मन्त्रालयमा तानेर अनुसन्धान सुरु गरिएको थियो। उनलाई लाइसेन्स प्रक्रियामा पर्ने स्वास्थ्य परीक्षण, विशेष गरी दृष्टि परीक्षणमा समेत अनियमितता भएको आरोप लगाइएको थियो।
उक्त छानबिन समितिमा मन्त्रालयका कानुनी सल्लाहकार, आईटी विज्ञ तथा प्रशासनका कर्मचारीहरू सहभागी थिए। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।
क्लिन चिट पाएपछि कार्यालय प्रमुख सत्यालले आफूविरुद्ध लगाइएका आरोपहरू असत्य भएको दाबी गर्दै नयाँ प्रविधि लागू गर्ने क्रममा स्वार्थ समूहले बदनाम गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन्। उनले आफू बिचौलिया समूहको दबाबमा नझुकेको र सुधारात्मक प्रणाली लागू गर्ने प्रयासकै कारण विवादमा तानिएको पनि बताएका छन्।
