काठमाडौँ । खनिजजन्य उद्योगबाट रु २ अर्ब १४ करोड राजस्व संकलन भएको छ। यो रकम गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा संकलन भएको हो।
खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थर लगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणमार्फत उक्त राजस्व संकलन गरिएको हो।
विभागले गत आर्थिक वर्षमा चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामा लगायतका खनिज उत्खननका लागि अनुमति दिएको जनाएको छ।
सरकारले खनिज स्रोतहरूको व्यवस्थित उपयोग र राजस्व वृद्धि गर्ने उद्देश्यले अनुमति प्रक्रिया तथा अनुगमनलाई थप प्रभावकारी बनाउँदै आएको विभागले जनाएको छ।
