काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभन देखाएर रु ९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बुल्गेरिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा सल्ल्यानको शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र वनगाड कुपिन्डे नगरपालिका–८ का २४ वर्षीय घने बुढालाई पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार उनीहरूले वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने आश्वासन दिएर ठूलो रकम असुल गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।
