काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केत बत्ती उल्लङ्घन गर्ने १०२, तीव्र गतिमा सवारी चलाउने ९३, लेन अनुशासन पालना नगर्ने १७९ र सार्वजनिक यातायातका साधन असुरक्षित ढङ्गले सञ्चालन गर्ने ३८ जना चालकलाई कारबाही गरिएको हो।
यसैगरी, अनावश्यक रूपमा हर्न बजाउने ४६ जना, तोकिएको स्थानमा मात्र यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने २० जना र अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९३ जनालाई पनि कारबाही गरिएको छ।
ट्राफिक कारबाहीबाट ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व राज्यकोषमा दाखिला भएको कार्यालयले जनाएको छ।
