पोखरा । गगन थापाले नेपाली कांग्रेसलाई रि–ब्रान्डिङ र पुनर्संरचना गरेर आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा देशकै पहिलो पार्टी बनाउने दाबी गरेका छन्। उनले २०८३ सालभित्र पार्टीलाई मजबुत बनाउँदै २०८४ सालको निर्वाचनमा कांग्रेसलाई पुनः “नम्बर–१ पार्टी” बनाउने संकल्प व्यक्त गरेका हुन्।
पोखरामा आयोजित पार्टीको आन्तरिक समीक्षा तथा ‘आगामी बाटो’ कार्यक्रममा बोल्दै थापाले अहिलेको समय हारको चिन्ता गर्ने होइन, गम्भीर आत्मसमीक्षाको समय भएको बताए। उनले भने, “यो आत्मरक्षाको समय पनि होइन, आत्मनिन्दाको समय पनि होइन, यो आत्मसमीक्षाको समय हो।”
उनका अनुसार कांग्रेसले एकता र अनुशासनका आधारमा संगठनलाई नयाँ ढङ्गले अघि बढाउँदै २०८३ सालदेखि विशेष कार्ययोजना लागू गर्नेछ। उनले पार्टीलाई रि–ब्रान्डिङ र पुनर्संरचना गरेर नयाँ ढाँचामा लैजाने योजना रहेको बताए।
थापाले अहिले देखिएको राजनीतिक चुनौती नेपाल मात्र नभई विश्वव्यापी प्रवृत्ति भएको उल्लेख गर्दै पुराना राजनीतिक शक्तिहरूलाई विश्वभर नै कठिनाइ भइरहेको बताए। उनले पपुलिज्मको बढ्दो प्रभाव र सामाजिक सञ्जालको भूमिकाले राजनीतिक संरचनामा ठूलो परिवर्तन ल्याइरहेको पनि टिप्पणी गरे।
उनले पार्टी सदस्यता प्रणालीमा पनि ठूलो परिवर्तन गर्ने योजना सुनाउँदै अब ‘कांग्रेस आइडेन्टिटी कार्ड’ वितरण गरिने जानकारी दिए। उनका अनुसार डिजिटल प्रणालीमा आधारित सदस्यता व्यवस्थाले प्रक्रिया सहज बनाउनेछ र एक पटक कार्ड प्राप्त गरेपछि बारम्बार फारम भर्नु नपर्ने व्यवस्था हुनेछ।
साथै, समयमै सदस्यता अद्यावधिक नगर्ने सदस्यले आगामी १५औँ महाधिवेशनमा सहभागी हुन नपाउने व्यवस्था लागू हुने पनि उनले बताए।
