जेरुसेलम । जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो विरुद्ध चलिरहेको भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित भई बयान दिन नसक्ने भन्दै निवेदन दिएका छन्।
उनका वकिलले शुक्रबार जेरुसेलम जिल्ला अदालतलाई पत्र बुझाउँदै आगामी आइतबारदेखि सुरु हुने सुनुवाइमा प्रधानमन्त्री उपस्थित हुन नसक्ने जानकारी दिएका हुन्। निवेदनमा हालैको युद्धविरामपछि पनि देशको सुरक्षा अवस्था अत्यन्त संवेदनशील रहेको र अति गोप्य सुरक्षा तथा कूटनीतिक कारणले दुई हप्तासम्म बयान दिन असमर्थ हुने उल्लेख गरिएको छ।
वकिलद्वारा अदालतमा बुझाइएको पत्रमा हाल इजरायल र पश्चिम एसियामा विकसित घटनाक्रमलाई “नाटकीय सुरक्षा परिस्थिति” भन्दै प्रधानमन्त्रीको उपस्थिति आवश्यक नभएको तर्क गरिएको छ। साथै, ती गोप्य कारणहरू उल्लेख गरिएको छुट्टै खामबन्दी (sealed) पत्र पनि अदालतलाई बुझाइएको छ।
अब सरकारी पक्षको जवाफपछि अदालतले नेतान्याहुको अनुरोध स्वीकार गर्ने वा अस्वीकार गर्नेबारे निर्णय गर्नेछ।
नेतान्याहु इजरायलको इतिहासमा पदमै रहँदा आपराधिक मुद्दा सामना गर्ने पहिलो प्रधानमन्त्री हुन्। उनीमाथि सन् २०१९ मा घुसखोरी, ठगी र विश्वासघातको आरोप लागेको थियो भने सन् २०२० बाट औपचारिक सुनुवाइ सुरु भएको हो। उनले सबै आरोप अस्वीकार गर्दै आएका छन्।
यसअघि पनि विभिन्न राजनीतिक तथा सुरक्षा कारण देखाउँदै उनको बयान पटक–पटक सरेको थियो, जसले मुद्दा लामो समयदेखि अनिश्चित बनेको छ।
लगातारको युद्ध र विवादित मुद्दाका कारण नेतान्याहुको राजनीतिक स्थिति कमजोर बन्दै गएको विश्लेषकहरू बताउँछन्। आगामी निर्वाचनअघि विपक्षीहरूले यसलाई समय लम्ब्याउने रणनीति भन्दै आलोचना गरेका छन्।
