झापा । मेचीनगर नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय नकलबन्दा जीर्ण संरचना, न्यून जनशक्ति र स्रोतसाधनको अभावका कारण गम्भीर समस्यामा परेको छ। नेपाल–भारत सीमाको सुरक्षा जिम्मेवारी सम्हाल्दै आएको यो कार्यालय स्वयं असुरक्षित अवस्थामा पुगेको स्थानीयले बताएका छन्।
वि.सं. २०३४ सालमा सिमाना प्रहरी चौकीका रूपमा स्थापना भएको यो कार्यालय चार वर्षअघि इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको थियो। तर स्तरोन्नति भए पनि आवश्यक संरचना, जनशक्ति र सुविधामा सुधार नहुँदा अझै चौकीस्तरकै अवस्थामा सीमित रहेको छ।
दरबन्दीअनुसार २५ जना प्रहरी खटिनुपर्ने भए पनि हाल प्रहरी नायब निरीक्षकको नेतृत्वमा मात्र ८ जना प्रहरी कार्यरत छन्। सीमित जनशक्तिले अवैध ओसारपसार, लागुऔषध नियन्त्रण, आपराधिक गतिविधि रोकथाम र सीमापार आवागमन निगरानीजस्ता जटिल कार्यसमेत सम्हाल्नुपर्ने अवस्था रहेको छ।
कार्यालयको कार्यक्षेत्र मेचीनगरका वडा नम्बर ५, ६ र ८ का केही भागहरू समेटिन्छन्, जसको ठूलो हिस्सा भारतसँग खुला सीमा जोडिएको संवेदनशील क्षेत्र हो। जनशक्ति र भौतिक पूर्वाधार कमजोर हुँदा सीमावर्ती सुरक्षा जोखिममा परेको स्थानीयवासीको गुनासो छ।
कार्यालय भवनसमेत जीर्ण अवस्थामा रहेको छ भने आसपासको सुरक्षा संरचना पनि कमजोर छ। सीमावर्ती क्षेत्रको संवेदनशीलता बुझेर सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने स्थानीयको माग छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाभर ७३ वटा स्थायी तथा अस्थायी प्रहरी युनिटहरू रहेका छन्, जसमध्ये केही कार्यालयहरू अझै जीर्ण अवस्थामा छन्। यसबारे सम्बन्धित निकायलाई जानकारी गराइसकिएको उनले बताए।
नकलबन्दा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यालय करिब २०० मिटर दूरीमा रहेका छन्, तर दुवै भवन जीर्ण अवस्थामा छन्। भारतसँगको खुला सीमाका कारण यस क्षेत्रमा लागुऔषध कारोबार, तस्करी र अवैध आवागमनजस्ता चुनौती अझै उच्च रहेको सरोकारवालाहरूको भनाइ छ।
