काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्दा पाक्षिक रूपमा करिब ७ अर्ब ८२ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ। मूल्य समायोजन गरिरहे पनि घाटा निरन्तर उच्च रहेको निगमले स्पष्ट पारेको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार मूल्य वृद्धि गर्दै गए पनि निगमले प्रत्येक १५ दिनमा करिब पौने ८ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य, ढुवानी खर्च र विनिमय दरमा भएको उतारचढावका कारण लागत बढेको बताए।
उनका अनुसार निगमले भारतीय आयल कर्पोरेसन (IOC) लाई तिर्नुपर्ने बक्यौता रकम अझै १६ अर्ब ३७ करोड रुपैयाँ बाँकी छ। यही आर्थिक दबाबका कारण निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न बाध्य भएको उनको भनाइ छ।
निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा २५ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा १०० रुपैयाँले मूल्य वृद्धि गरेको छ। यसले उपभोक्ताको दैनिक जीवनयापनमा प्रत्यक्ष असर पार्ने देखिएको छ।
निगमले सार्वजनिक सन्देशमार्फत इन्धनको खपत घटाउन र मितव्ययी रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। अत्यधिक खपतले घाटा अझै बढ्ने भएकाले सचेत भएर प्रयोग गर्नुपर्ने निगमको भनाइ छ।
पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि, विदेशी विनिमय दरमा भएको परिवर्तन तथा आपूर्ति लागत बढ्दा नेपालमा पनि इन्धन मूल्य निरन्तर दबाबमा परेको छ।
विश्लेषकहरूका अनुसार लगातार घाटा र बढ्दो बक्यौताले निगमको वित्तीय स्थायित्वमा थप चुनौती सिर्जना गरेको छ। दीर्घकालीन समाधानका लागि मूल्य संरचना सुधार, अनुदान व्यवस्थापन र वैकल्पिक ऊर्जा नीतिमा सरकारले ध्यान दिनुपर्ने सुझाव पनि दिइएको छ।
