काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन अब आगामी वैशाख २१ र २२ गते गर्ने निर्णय गरिएको छ। यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम उच्च अदालत पाटनको अन्तरिम आदेशपछि स्थगित भएको थियो।
शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले कानुनी परामर्शपछि नयाँ मिति तय गरेको हो। बैठकले अदालतको आदेश र उजुरीको विषयलाई ध्यानमा राख्दै निर्वाचन प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको बताइएको छ। उक्त निर्णयलाई अनुमोदन गर्न वैशाख ९ गते केन्द्रीय (कार्यकारिणी) समितिको बैठक बोलाइएको छ।
यसअघि महासंघले आफ्ना आन्तरिक तयारीअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी गरेको थियो। तर, बस्तुगततर्फको सदस्य पेट्रोलियम ढुवानी महासंघले दिएको उजुरीपछि अदालतले अन्तरिम आदेश जारी गर्दै साधारण सभा तथा निर्वाचन तत्कालका लागि रोक्न निर्देशन दिएको थियो। सो आदेशपछि महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अनिश्चित बनेको थियो।
पदाधिकारी बैठकपछि महासंघले अब कानुनी प्रक्रिया पूरा गरेर तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्ने तयारी अघि बढाएको छ। नयाँ तालिकाअनुसार सबै तयारी पुनः व्यवस्थित गरिने र निर्वाचनलाई पारदर्शी तथा व्यवस्थित बनाउन आवश्यक प्रबन्ध मिलाइने जनाइएको छ।
महासंघभित्र लामो समयदेखि निर्वाचन प्रक्रिया र प्रतिनिधित्वको विषयमा विवाद रहँदै आएको छ। विभिन्न सदस्य संस्थाहरूले आफ्ना अधिकार, प्रतिनिधित्व र मताधिकारबारे प्रश्न उठाउँदै आएका कारण यसपटकको निर्वाचन संवेदनशील मानिएको छ।
यसबीचमा अदालतको आदेशपछि रोकिएको निर्वाचन पुनः सुरु गर्ने निर्णयले महासंघभित्रको राजनीतिक तथा व्यावसायिक चासो फेरि बढाएको छ। व्यवसायीहरूले अबको निर्वाचनले महासंघको आगामी नेतृत्व र निजी क्षेत्रको नीति–दिशामा महत्वपूर्ण प्रभाव पार्ने बताएका छन्।
निर्वाचन प्रक्रिया सहज बनाउन महासंघले सबै सरोकारवाला पक्षसँग छलफल गर्दै अघि बढ्ने बताएको छ। अबको केही सातामा कार्यकारिणी समितिको बैठकपछि निर्वाचनको अन्तिम तयारी स्पष्ट हुने अपेक्षा गरिएको छ।
