काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारलाई स्वच्छ र मर्यादित बनाउन एकै दिन ५६ वटा फर्म तथा व्यवसायमा अनुगमन गरेको छ।
विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमन गर्दै आवश्यक निर्देशन तथा कारबाही गरिएको हो। अनुगमन काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न व्यवसायमा गरिएको थियो।
विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार अनुगमनका क्रममा धेरैजसो फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ। कलाबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरण रोकथाम तथा अधिकतम खुद्रा मूल्य पालना भए/नभएको विषयमा विशेष ध्यान दिइएको विभागले जनाएको छ।
यसअघि बिहीबार ५१ फर्ममा अनुगमन गरेको विभागले शुक्रबार भने थप ५६ फर्ममा अनुगमन गरी बजार व्यवस्थापनलाई कडाइका साथ अघि बढाएको उल्लेख गरेको छ।
