इनरुवा । भण्टाबारीबाट स्रोत नखुलेको रु ६ लाख ६९ हजार ७१० सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशव थेबेका अनुसार पक्राउ पर्नेहरूमा सप्तरीको तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारत, सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखिया रहेका छन्।
प्रहरीका अनुसार उनीहरू मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा शङ्काको आधारमा जाँच गर्दा स्रोत नखुलेको उक्त रकम फेला परेको हो। त्यसपछि उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
