चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ। निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार बिहीबार गस्तीका क्रममा भएको घटनामा गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाइएको गोलीबाट गैँडाको ज्यान गएको हो।
निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणअन्तर्गत सेहरी सुरक्षा पोस्टबाट खटिएको टोली नियमित गस्तीमा रहेका बेला अर्धवयस्क बच्चासहितको पोथी गैँडाले अचानक आक्रमण गरेको थियो। आक्रमणमा एक सिपाही परेपछि टोलीले आत्मरक्षाका लागि सुरुमा १४ राउन्ड हवाई फायर गरेको थियो।
तर हवाई फायर गर्दा पनि गैँडा नभागेपछि सिपाहीको ज्यान जोगाउन थप दुई राउन्ड गोली चलाइएको थियो, जसबाट गैँडा घाइते भई घटनास्थलमै मृत्यु भएको निकुञ्जले जनाएको छ। मृत गैँडा करिब २४ वर्षको पोथी रहेको बताइएको छ।
