सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। पक्राउ पर्नेहरूमा बोक्सीको आरोपमा कुटपिट गर्ने एक जना र अभद्र व्यवहार गर्ने तीन जना रहेका छन्।
प्रहरीका अनुसार बोदेबर्साइन नगरपालिका–१ बस्ने २४ वर्षीय रामनारायण यादवलाई बोक्सीको आरोपमा एक महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको हो। उनले गत असोज २७ गते धनगढी टोलमा ईश्वरवती देवी यादवकी सासू निरासी यादवनीलाई बोक्सीको आरोप लगाउँदै गालीगलौज गर्नुका साथै मुखमा कालो मसो र सेतो चुन दल्ने प्रयास गरेका थिए। उनलाई अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी अभद्र व्यवहारको आरोपमा अन्य तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सुरुङ्गा नगरपालिका–६ का २२ वर्षीय सुनील कुमार सदा चैत २६ गते बजार क्षेत्रमा होहल्ला गरिरहेका बेला प्रहरीले सम्झाउन खोज्दा उल्टै गालीगलौज गर्दै ड्युटीमा अवरोध पुर्याएको आरोपमा पक्राउ परेका हुन्। उनलाई पनि ६ दिनको म्याद थप गरिएको छ।
त्यस्तै बोदेबर्साइन नगरपालिका–१ का रामचन्द्र मण्डललाई माघ २५ गते मनौर टोलमा सुजान देवी यादवलगायतलाई कुटपिट गरी अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ। उनलाई पनि ६ दिनका लागि म्याद थप गरिएको छ।
महादेवा गाउँपालिका–४ का ४६ वर्षीय शेखर मण्डललाई चैत २६ गते राजविराज नगरपालिका–२ मा गंगाधर प्रसाद देवमाथि गालीगलौज, धाकधम्की तथा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो। उनलाई ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार पक्राउ परेका सबैमाथि सम्बन्धित मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
