काठमाडौँ — नेपाल चिकित्सक सङ्घ ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने जनाएको छ।
सङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयको निर्णयप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै जनशक्तिको अभावका कारण आइतबार नियमित ओपीडी सेवा सञ्चालन गर्न असम्भव हुने स्पष्ट पारेको हो।
सङ्घका महासचिव सञ्जिव तिवारी ले जारी गरेको विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिहान ९ देखि बेलुका ५ बजेसम्मको नियमित ड्युटी बाहेक अनकल, वार्ड राउन्ड र आकस्मिक सेवासमेत निरन्तर दिइरहेको अवस्थामा उक्त अतिरिक्त समयलाई गणना नगर्नु अन्यायपूर्ण भएको उल्लेख गरिएको छ।
त्यस्तै, विभिन्न स्वास्थ्य संस्थामा फरक–फरक दिन बिदा दिँदा अस्पतालहरूले दिने सेवामा एकरूपता नआउने र बिरामीहरू अन्योलमा पर्न सक्ने सङ्घको भनाइ छ। यसले सेवा लिन आउने सर्वसाधारणलाई अनावश्यक झन्झट व्यहोर्नुपर्ने र स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने चेतावनीसमेत दिइएको छ।
सङ्घले स्वास्थ्य सेवा व्यवस्थापनमा व्यवहारिकता अपनाउन र जनशक्ति व्यवस्थापनलाई ध्यानमा राखी निर्णय लिन सरकारसँग आग्रह गरेको छ।

