काठमाडौँ — श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको छ। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियामार्फत उहाँ उक्त पदमा निर्वाचित हुनुभएको हो।
प्रतिनिधि सभाका कुल उपस्थित २५७ सदस्यहरूमध्ये ठाकुरले २१५ मत प्राप्त गर्नुभयो। उहाँका प्रतिस्पर्धी सरस्वती लामा ले पाँच मत मात्र प्राप्त गर्नुभयो। ठाकुरलाई रास्वपा, नेपाली कांग्रेस र नेकपाले समर्थन गरेका थिए भने नेकपा (एमाले) निर्वाचनमा तटस्थ रहेको थियो। सभामुख डोलप्रसाद अर्याल ले मतपरिणाम घोषणा गर्दै ठाकुर अत्यधिक बहुमतले निर्वाचित भएको जानकारी गराउनुभयो।
नव निर्वाचित उपसभामुख ठाकुरको पारिवारिक पृष्ठभूमि सामान्य रहेको छ। उहाँका बुवा सोगराथ ठाकुर हाल वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहनु भएको छ भने आमा रेणु ठाकुर गृहिणी तथा किसान हुनुहुन्छ।
२५ वर्षीया ठाकुरले २०७४ सालमा धनुषाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको थियो। त्यसपछि उहाँले बलरा पोलिटेक्निक, धनुषाबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएको हो। अध्ययनपश्चात् उहाँ आर्किटेक्चर कन्सल्टेन्सी क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो।
जेनजी आन्दोलनपछि राजनीतिमा सक्रिय हुँदै उहाँ श्रम संस्कृति पार्टीमा आवद्ध हुनुभएको थियो। हाल उहाँ सोही पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ।
