काठमाडौँ — श्रम संस्कृति पार्टीका सांसद आरेन राई ले आफ्नो पार्टीलाई ‘पूर्वका राईको पार्टी’ भनी फैलाइएको भ्रमप्रति आपत्ति जनाउँदै पार्टी कुनै क्षेत्र वा जातविशेषमा सीमित नरहेको स्पष्ट पारेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उपसभामुख पदमा रुबीकुमारी ठाकुर लाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले श्रम संस्कृति पार्टीले भूगोल, जात र धर्मका आधारमा विभाजित सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने लक्ष्य राखेको बताए।
मधेसको प्रतिनिधित्व सुनिश्चित गर्न उपसभामुखमा ठाकुरलाई उम्मेदवार बनाइएको स्पष्ट पार्दै सांसद राईले मधेस प्रदेश सबैभन्दा बढी जनसङ्ख्या भएको र विगतमा शासकबाट सबैभन्दा बढी उत्पीडनमा परेको क्षेत्र भएको उल्लेख गरे।
उनले भने, “श्रम संस्कृति पार्टीलाई पूर्वका राईको पार्टी वा क्षेत्रीय पार्टी भनेर प्रचार गरिएको छ, तर हामी सम्पूर्ण नेपालीलाई एउटै मालामा उनेर अगाडि बढ्ने लक्ष्यमा छौँ।”
सांसद राईले मधेसका महिलाहरूको सशक्त आवाजका रूपमा ठाकुरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै लोकतन्त्रको सुन्दर पक्ष स्वच्छ प्रतिस्पर्धा भएको उल्लेख गर्दै उनले आफ्नो उम्मेदवारलाई समर्थन गर्ने सबै दल र सांसदहरूलाई धन्यवाद दिएका छन्।
