काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादव ले स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यासमा सीमित नराखी राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले प्रमाणमा आधारित नीति निर्माणलाई सुदृढ बनाउन सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् द्वारा काठमाडौँमा आयोजित ‘नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको १२औँ राष्ट्रिय शिखर सम्मेलन’को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले स्वास्थ्य अनुसन्धानले रोगका कारण, उपचारका विकल्प, जनसङ्ख्या–स्वास्थ्य प्रवृत्ति तथा सामाजिक–आर्थिक प्रभावबारे दीर्घकालीन दृष्टिकोण प्रदान गर्ने बताए।
उनले नसर्ने रोगहरूको बढ्दो बोझ, जलवायु परिवर्तनका असर तथा भौगोलिक र सांस्कृतिक विविधताबाट उत्पन्न असमानताजस्ता चुनौती सामना गर्न अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। परम्परागत उपचार पद्धति र आधुनिक वैज्ञानिक अनुसन्धानबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धानका नतिजालाई नीति, कार्यक्रम र कार्यान्वयनमा प्रयोग गर्नुपर्ने बताए।
संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले वैज्ञानिक तथ्याङ्कलाई नीति निर्माणमा रूपान्तरण गर्नु नै संविधानको मूल मर्म भएको धारणा राखे। उनले अनुसन्धानले चिकित्सक, स्वास्थ्यकर्मी तथा वैज्ञानिकलाई अद्यावधिक ज्ञान प्रदान गर्दै व्यावहारिक दक्षता अभिवृद्धि गर्न सहयोग पुर्याउने बताए।
यसका साथै नीति निर्माता, शिक्षाविद् तथा विकास साझेदारबीच सहकार्यको वातावरण निर्माण गर्न अनुसन्धानले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे।
