काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका सबै विमानस्थलहरूको सेवा गुणस्तर सुधार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई कडा निर्देशन दिएको छ। विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित प्रमुख विमानस्थलहरूमा देखिएका सेवा कमजोरी, सरसफाइको अवस्था र यात्रुमैत्री पूर्वाधारमा तत्काल सुधार गर्न मन्त्रालयले निर्देशन जारी गरेको हो।
सार्वजनिक गुनासो र यात्रुहरूको सुझावका आधारमा विमानस्थल सेवामा तत्काल सुधार आवश्यक देखिएको भन्दै मन्त्रालयले २४ घण्टाभित्र कार्यान्वयन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जारी गरेको पत्रमा महिला यात्रुहरूको संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थलका प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन भनिएको छ। साथै, साना बालबालिका भएका आमाहरूका लागि सुरक्षित, सफा र गोपनीयता सुनिश्चित स्तनपान कक्ष तथा ‘बेबी चेन्जिङ’ कक्षको व्यवस्था वा स्तरवृद्धि गर्न पनि निर्देशन दिइएको छ।
त्यस्तै, बिरामी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका यात्रुहरूका लागि प्राथमिक हेरचाह कक्ष स्थापना गर्न मन्त्रालयले विशेष जोड दिएको छ।
विमानस्थल सरसफाइलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन दैनिक सरसफाइ लगबुक प्रणाली लागू गर्नुपर्ने तथा विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने निर्देशनमा उल्लेख छ।
मन्त्रालयले विमानस्थल परिसरको नियमित निरीक्षण र अभिलेखीकरण अनिवार्य गर्न समेत निर्देशन दिएको छ। यी सबै सुधार कार्यान्वयनको फोटो प्रमाण र विवरण २४ घण्टाभित्र मन्त्रालयमा बुझाउनुपर्नेछ।
निर्देशन पालना नगरे प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत मन्त्रालयले दिएको छ।

