काठमाडौं — नेपाल रग्बी संघको आयोजनामा “राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता–२०२६” यही शनिबारदेखि सुरु हुने भएको छ। प्रतियोगिता चैत २८ र २९ गते काठमाडौँको दशरथ रंगशाला मा सञ्चालन गरिने संघले जनाएको छ।
संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगितामा देशभरका विभागीय तथा प्रदेशस्तरीय टोलीहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा दुई विभागीय टोली—एपीएफ र त्रिभुवन आर्मी, साथै बागमती प्रदेश, कर्णाली र मधेस प्रदेशका पुरुष तथा महिला दुवै टोली सहभागी हुनेछन्। त्यस्तै, कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट महिला टोली मात्र सहभागी हुनेछन् भने गण्डकी प्रदेशबाट पुरुष टोलीले मात्र प्रतिस्पर्धा गर्नेछ।
टोलीहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीअनुसार खेल सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाउनेछ। त्यस्तै, उत्कृष्ट एक पुरुष र एक महिला खेलाडीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खेलाडीहरूको सुरक्षाका लागि करिब १ लाख २५ हजार रुपैयाँ बराबरको खेल दुर्घटना बीमा गरिएको छ। स्वास्थ्य सेवाका लागि भक्तपुर इन्टरनेशनल अस्पतालको सहयोग रहनेछ भने टोलीहरूका लागि होटल बसोबास तथा एकपटकको यातायात खर्चको व्यवस्था पनि गरिएको छ।
नेपाल रग्बी संघले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय टोलीमा छनोट गरी आगामी अन्तर्राष्ट्रिय तथा एसियाली प्रतियोगितामा सहभागी गराउने लक्ष्य राखेको छ।
