कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सभागृह चोक नजिकै भएको घटनाबारे प्रहरी उपरीक्षक नविन कार्कीले पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गरेका हुन्।
गत चैत २७ गते साँझ करिब ७:०६ बजे सिर्जना पौडेल केसी आफ्नो मासु पसल बन्द गरी घरतर्फ पैदल जाँदै गर्दा पोखरा–बागलुङ सडकखण्डको शिवालय चोक नजिकै उनीमाथि धारिलो हतियार (खुकुरी) प्रहार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अभियुक्तहरूले दिउँसोदेखि नै निगरानी गरी एकान्त र अँध्यारो स्थान रोजेर योजनाबद्ध रूपमा आक्रमण गरेका थिए। प्रारम्भिक अनुसन्धानमा घटनाको मुख्य कारण पारिवारिक झगडा र अंश–सम्पत्ति विवाद रहेको खुलेको छ।
एसपी कार्कीका अनुसार मृतक सिर्जनाले करिब ९ वर्षअघि कृष्ण क्षेत्रीसँग दोस्रो विवाह गरेकी थिइन् र कृष्णका जेठी श्रीमतीतर्फका छोराछोरीसँग सम्पत्तिको विषयमा विवाद रहेको देखिएको छ। प्रहरीले विभिन्न प्राविधिक र सूचनामूलक अनुसन्धानपछि अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको जनाएको छ।
