काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन्।
गत भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ भन्दै उनले आफूमाथि लगाइएको फौजदारी अभियोग निराधार रहेको दाबी गरेका हुन्। उनका अनुसार सोही प्रतिवेदनको आधारमा आफूविरुद्ध मुद्दा दायर गरी १३ दिनसम्म नियन्त्रणमा राखिएको थियो।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले अन्ततः अदालतको आदेशपछि आफू रिहा भएको उल्लेख गरेका छन्।
लेखकले सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्दै आफू कानूनको पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएको बताएका छन्। साथै, आगामी दिनमा कानूनी तथा राजनीतिक लडाइँ जारी रहने पनि उनको भनाइ छ।
उनले आफ्नो रिहाइका लागि आवाज उठाउने नागरिक, कानून व्यवसायी, न्यायकर्मी, अधिकारकर्मी, राजनीतिक दलका नेताहरू, सञ्चारकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
