काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
शुक्रबार नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्ष तथा वार्षिक साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाले सरकार, सरोकारवाला निकाय, कूटनीतिक नियोग तथा विकास साझेदारसँग गर्दै आएको सहकार्य प्रशंसनीय रहेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले नीति निर्माणमा वस्तुपरक विश्लेषण, अर्थतन्त्रका चुनौतीहरूमा स्पष्ट धारणा तथा व्यवहारिक सुझावमार्फत चेम्बरले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए।
कोभिड महामारी, आपूर्ति शृङ्खलामा आएको अवरोध, उत्पादन तथा व्यापारमा गिरावट र त्यसपछिको आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले अर्थतन्त्र प्रभावित भएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको समन्वय अझ सुदृढ हुनुपर्नेमा जोड दिए।
उनले राजनीतिक स्थिरता नै आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्ने बताए।
