काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो भिडभाडलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूले नयाँ आग्रह गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जना मात्रै साथमा आउन अनुरोध गरेका हुन्।
विमानस्थल प्रशासनका अनुसार एक यात्रुको बिदाइमा १० जनासम्म आफन्त आउने प्रवृत्तिले विमानस्थल परिसरमा अत्यधिक भीड हुने गरेको छ। यसले यात्रु व्यवस्थापनमा समस्या मात्र होइन, सुरक्षा चुनौती पनि थपिएको बताइएको छ।
अनावश्यक भीडका कारण स्वदेशी तथा अन्तर्राष्ट्रिय यात्रुको आवागमनमा असुविधा हुने गरेको भन्दै प्रशासनले कम संख्यामा आफन्त आएर सहयोग गर्न आग्रह गरेको हो। यसअघि पनि पटक–पटक सूचना जारी गर्दै यस्तो अनुरोध गरिँदै आएको थियो।
प्रशासनले स्पष्ट रूपमा एक यात्रु बराबर बढीमा तीन जना मात्रै विमानस्थलसम्म आउन आग्रह गर्दै सबैलाई नियम पालना गरी सहकार्य गर्न अपिल गरेको छ।
