इलाम । सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ। ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ अनुसार उद्योगहरूले किसानलाई प्रतिकिलो कम्तीमा ४० रुपैयाँ दिनुपर्ने र ४० प्रतिशत मुनाको चिया मात्र टिप्नुपर्ने प्रावधान थियो।
तर किसान र उद्योगीबाट खुला बजार प्रणालीको माग बढेपछि नगरपालिकाको १८औँ नगरसभाको तेस्रो बैठकले उक्त व्यवस्था संशोधन गरेको कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले जानकारी दिए। उनका अनुसार नागरिकलाई असहज बनाउने विभिन्न सात ऐनसमेत संशोधन गरिएको छ।
नगरसभाबाट विनियोजन ऐन २०८२, आर्थिक ऐन २०८२, आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६, स्वास्थ्य ऐन २०७८, सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६, नगर प्रहरी ऐन २०७६ र सहकारी ऐन २०७५ संशोधन विधेयक पारित गरिएको छ।
नगर क्षेत्रमा रहेका ६३ साना–ठूला चिया उद्योगलाई मध्यनजर गर्दै नगरपालिकाले चियाको मूल्य निर्धारणको जिम्मा संघीय सरकारलाई दिनुपर्ने निर्णय पनि गरेको छ। “चिया उत्पादनदेखि प्रशोधनसम्म स्थानीय तहले ध्यान दिने, तर बजार र मूल्य निर्धारण संघीय सरकारले गर्नुपर्छ,” प्रमुख बरालले बताए।
चिया क्षेत्रका समस्या समाधानका लागि नगरले १४ वटै वडाबाट किसान तथा उद्योगीका सुझाव संकलन गरेको थियो भने अनलाइनमार्फत पनि राय लिएको थियो। अब चिया क्षेत्र व्यवस्थापनका लागि छुट्टै चिया शाखा सञ्चालन गर्ने तयारी गरिएको छ।
यससँगै अन्य ऐनहरूलाई संघीय कानुनअनुसार परिमार्जन गरिएको छ भने सवारी व्यवस्थापनमा सहजता ल्याउने, सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने लगायतका निर्णय पनि गरिएको छ। नगरले चिया बगानको स्वामित्व स्थानीय तहमा ल्याउन संघीय सरकारसँग पहल गर्ने, सडक पूर्वाधार सुधार गर्ने र विपद्पछि क्षतिग्रस्त सडक मर्मतका लागि बजेट विनियोजन गर्ने निर्णयसमेत गरेको छ।
नगरलाई पारदर्शी र उत्तरदायी बनाउने लक्ष्यसहित कार्यक्रमहरू प्रत्यक्ष प्रसारण गर्ने र बेरुजु शून्यमा झार्ने अभियानसमेत अघि बढाइएको जनाइएको छ।
