काठमाडौँ । सडक डिभिजन कार्यालय भरतपुरले सम्झौता अनुसार सडक निर्माण कार्य सम्पन्न नगर्ने दुई निर्माण कम्पनीलाई ठेक्का सम्झौता किन अन्त्य नगर्ने भन्दै ७ दिने अन्तिम चेतावनी दिएको छ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै निर्माण सुरु गरे पनि उचित कारणबिना काम स्थगित गरी बीचमै अलपत्र छोडेको, कार्यतालिका अनुसार प्रगति नगरेको र तोकिएको समयसीमाभित्र काम नसकिएको भन्दै ती कम्पनीहरूसँग स्पष्टीकरण मागेको जनाएको छ।
कारबाहीको चेतावनीमा परेका कम्पनीमध्ये परासी निर्माण सेवा प्रालिले नवलपुरको देवचुली–१३ क्षेत्रमा हुलाकी राजमार्ग अन्तर्गत केउरानी–बोटे–पिप्रहर–गैँडाकोट (थारु बोटे माझी मुसहर कोरिडोर) तथा दलदले चोक हुँदै चितवन जोड्ने विपी मार्ग स्तरोन्नतिको ठेक्का लिएको थियो।
यस्तै, डोलेप कन्स्ट्रक्सन (नुवाकोट) ले चितवनको भरतपुर, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका जोड्ने शक्तिखोर–सिद्धि इच्छाकामना सडक खण्ड अन्तर्गत कालिका–१० स्थित धिम्बेली भिर र जातबाङ भिर क्षेत्रमा स्तरोन्नतिको जिम्मा पाएको थियो।
तर समयमै काम नगरेको भन्दै कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२८ अनुसार सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउन सकिने चेतावनी दिएको छ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित काम सुरु नगरेमा स्वतः ठेक्का रद्द गरिने र नियमानुसार कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने कार्यालयले स्पष्ट पारेको छ।
