काठमाडौँ । वैदेशिक रोजगार विभागले कार्यालय आसपास तथा अन्य स्थानमा सञ्चालन भइरहेका साइबर सेन्टर र तालिम केन्द्रहरूलाई भ्रामक विज्ञापन र बिचौलिया गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको छ।
विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै केही साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाइन फारम भरिन्छ’ जस्ता भ्रामक सन्देश प्रयोग गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई झुक्याइरहेको जनाएको छ।
यस्ता संस्थाहरूले सेवाग्राहीलाई भ्रममा पार्दै अनावश्यक आकर्षण देखाएर रकम असुल गर्ने र बिचौलियाको रूपमा काम गरिरहेको गुनासो आएपछि विभागको ध्यानाकर्षण भएको हो।
विभागले सबै सम्बन्धित व्यवसायी, साइबर सेन्टर तथा संस्थाहरूलाई आफ्ना कार्यालयमा राखिएका प्रचार सामग्री—बोर्ड, होडिङ बोर्ड, फ्लेक्स र भित्ते लेखन लगायत—आगामी चैत ३० गतेभित्र अनिवार्य रूपमा हटाउन निर्देशन दिएको छ।
प्रचलित कानुनअनुसार श्रम स्वीकृति सम्बन्धी सेवा वैदेशिक रोजगार विभाग र तोकिएका श्रम तथा रोजगार कार्यालयहरूबाट मात्र प्रदान गरिन्छ। निर्देशन अवज्ञा गरेमा वैदेशिक रोजगार ऐन २०६४ लगायत प्रचलित कानुनअनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।
साथै विभागले सेवाग्राहीलाई आधिकारिक निकायबाट मात्रै सेवा लिन र बिचौलियाको भ्रममा नपर्न सचेत रहन आग्रह गरेको छ।
