काठमाडौँ । औषधीको मूल्य अनधिकृत रूपमा बढाइएको विषयले विवाद चर्किएपछि औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कारबाहीस्वरूप स्वास्थ्य मन्त्रालयमा तानिएको छ। स्वास्थ्य मन्त्रालयले उनलाई बिहीबार राति मन्त्रालयमा सरुवा गरेको हो।
यससँगै औषधी मूल्य वृद्धिको विषयमा छानबिन गर्न प्रधानमन्त्री कार्यालयले तीन सदस्यीय समिति गठन गर्न निर्देशन दिएको छ। सोही अनुसार स्वास्थ्य सचिव विकाश देवकोटालाई सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनमा औषधी मूल्य वृद्धि किन र कसरी भयो, मूल्य निर्धारण प्रक्रिया के हो, तथा सम्भावित अनियमिततामा को–को संलग्न छन् भन्ने स्पष्ट विवरणसहित प्रतिवेदन बुझाउन भनिएको छ।
यसअघि नै औषधीको मूल्यवृद्धि सम्बन्धी विषय प्रतिनिधि सभामा समेत उठाइएको थियो। बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले अनधिकृत मूल्यवृद्धिको विषयमा प्रश्न उठाउँदै अरबौँ रुपैयाँको घोटाला हुन सक्ने आशंका व्यक्त गरेका थिए।
सांसद खत्रीले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाउँदै औषधि व्यवस्थापनमा गम्भीर अनियमितता भएको दाबी गरेका छन्।
