काठमाडौँ । मध्यपूर्वमा देखिएको पछिल्लो भू–राजनीतिक तनाव, ऊर्जा पूर्वाधारमा भएका आक्रमण तथा विश्वको अत्यन्त महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोधको जोखिमका कारण अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा मूल्य फेरि बढेको छ।
ब्रेन्ट क्रुड तेल को मूल्य शुक्रबार कारोबारमा ०.८७ प्रतिशतले बढ्दै प्रति ब्यारेल ९६.७५ अमेरिकी डलर पुगेको छ। त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट तेल (WTI) १.०६ प्रतिशतले वृद्धि हुँदै प्रति ब्यारेल ९८.९१ अमेरिकी डलरमा पुगेको छ।
विश्लेषकहरूका अनुसार अमेरिका र इरानबीच दुई साताका लागि युद्धविरामको सहमति भए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन। लगानीकर्ताहरू अझै पनि आपूर्ति अवरोध, ऊर्जा पूर्वाधारमा थप आक्रमण र क्षेत्रीय युद्ध विस्तार हुने सम्भावनाबारे चिन्तित छन्।
पछिल्ला दिनहरूमा साउदी अरबको तेल पूर्वाधारमा भएको आक्रमणलाई बजारले प्रमुख झट्का (supply shock) का रूपमा लिएको छ। उक्त आक्रमणका कारण साउदी अरबको दैनिक उत्पादन करिब ६ लाख ब्यारेलले घटेको बताइएको छ। साथै पूर्व–पश्चिम पाइपलाइनको सञ्चालन प्रभावित हुँदा थप ७ लाख ब्यारेल बराबरको आपूर्ति कटौती भएको विवरण सार्वजनिक भएको छ।
खाडी क्षेत्रका करिब ५० वटा ऊर्जा पूर्वाधारहरू ड्रोन तथा मिसाइल आक्रमणबाट क्षतिग्रस्त भएको उल्लेख छ, जसका कारण झण्डै २४ लाख ब्यारेल दैनिक प्रशोधन क्षमता प्रभावित भएको अनुमान गरिएको छ। यसले विश्व तेल आपूर्ति सञ्जालमा गम्भीर दबाब सिर्जना गरेको छ।
विश्वको ऊर्जा व्यापारको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुज अहिले मुख्य चिन्ताको केन्द्र बनेको छ। यदि यो मार्ग पूर्ण रूपमा अवरुद्ध भयो भने विश्व बजारमा तेल आपूर्ति झनै सीमित हुने र मूल्य नियन्त्रण बाहिर जान सक्ने जोखिम देखिएको छ। केही ऊर्जा परामर्श संस्थाहरूले यस्तो अवस्था कायम रहेमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १९० अमेरिकी डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।
इरानले स्ट्रेट हुँदै जाने तेल ट्याङ्करहरूबाट शुल्क असुल्ने प्रस्ताव अघि सारे पनि पश्चिमी मुलुक तथा अन्तर्राष्ट्रिय ढुवानी निकायहरूले त्यसलाई अस्वीकार गरेका छन्। यसले तनाव अझ बढाएको छ।
यद्यपि अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा शान्ति वार्ताको प्रयास जारी छ। तर स्थलगत रूपमा द्वन्द्व पूर्ण रूपमा रोकिएको छैन र परिस्थिति अझै अस्थिर रहेको देखिन्छ।
