काठमाडौँ । अब नागरिक एपमार्फत वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी), लोक सेवा आयोगको प्रवेश पत्र र निजामती कर्मचारीको व्यक्तिगत विवरण (पिआईएस) समेत प्राप्त गर्न सकिने भएको छ।
सूचना प्रविधि विभाग नेपाल ले यी सेवाहरू एक साताभित्रै नागरिक एपमा सुरु गर्ने तयारी गरेको जनाएको छ। हाल यी प्रणालीहरू प्राविधिक परीक्षणको चरणमा रहेका छन्।
विभागका महानिर्देशक चन्द्र साह का अनुसार प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि सरकारी सेवाका लागि कार्यालय धाउनुपर्ने, लाइन बस्नुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट उल्लेख्य रूपमा घट्नेछ।
यो व्यवस्था मन्त्रिपरिषद्को ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ अन्तर्गत कार्यान्वयन भइरहेको हो। सञ्चार मन्त्रालयको निर्देशनपछि विभिन्न सरकारी निकायसँग समन्वय गरी सेवा विस्तारको काम तीव्र पारिएको छ।
यसै क्रममा नेपाल इन्जिनियरिङ परिषदसँग सम्झौता भइसकेको र छिट्टै व्यावसायिक इन्जिनियरहरूको प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी छ। यसअघि नै प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance Report) अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था सफल भइसकेको छ।
सरकारले नागरिक एपलाई सबै सरकारी सेवाको एकीकृत डिजिटल प्लेटफर्म बनाउने लक्ष्य राखेको छ, जसले सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
