नेपाल स्वास्थ्य अनुसन्धान परिषद को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२औँ शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। ‘नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया’ भन्ने नारासहित सुरु भएको यो सम्मेलन चैत २९ गतेसम्म चल्नेछ।
सम्मेलनमा नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ–नवजात तथा बाल स्वास्थ्य, परिवार नियोजन, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, स्वास्थ्य वित्त, स्वास्थ्य जनशक्ति, संक्रामक रोग, महामारी तयारी तथा विपद् व्यवस्थापनलगायत विषयमा छलफल र अनुभव आदान–प्रदान गरिनेछ।
त्यसैगरी चिकित्सकीय विज्ञान, आयुर्वेद तथा परम्परागत चिकित्सा, वातावरणीय तथा पेसागत स्वास्थ्य, जलवायु परिवर्तन, स्वास्थ्य सेवामा पहुँचको असमानता, स्वास्थ्यका सामाजिक निर्धारक, स्वास्थ्य शिक्षा तथा प्रवर्द्धन, पोषण तथा खाद्य सुरक्षा, बसाइँसराइ र स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य तथा औषधिमा पहुँचजस्ता विषयहरू पनि छलफलमा समावेश छन्।
आयोजकका अनुसार सम्मेलनमा १,२०० भन्दा बढी नेपाली स्वास्थ्य तथा विज्ञान क्षेत्रका विज्ञ र दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ। सहभागीहरूमा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अस्ट्रेलिया, कोरिया तथा युरोपका प्रतिनिधिहरू पनि रहेका छन्।
यस सम्मेलनमा कुल ४६५ वटा अनुसन्धान प्रस्तुति हुने बताइएको छ, जसले नेपालमा स्वास्थ्य अनुसन्धानलाई नीति र व्यवहारमा आधारित बनाउने दिशामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
