काठमाडौं : इरान सँग आबद्ध भनिएको ‘हन्दाला’ नामक ह्याकर समूहले इसराइल का पूर्व सेनाप्रमुख हर्जी हलेभी का फोन तथा अन्य डिजिटल उपकरणहरू ह्याक गरेको दाबी गरेको छ।
ह्याकर समूहका अनुसार उनीहरूले विगत केही वर्षदेखि हलेभीको फोनमा पहुँच राख्दै आएका थिए र यस अवधिमा हजारौँ तस्बिर तथा भिडियो संकलन गरिएको दाबी गरिएको छ।
समूहले सार्वजनिक गरेका सामग्रीमा हलेभीले विभिन्न सैन्य अड्डाहरूको भ्रमण गरेको, उच्चस्तरीय बैठकमा सहभागी भएको तथा वरिष्ठ सैन्य अधिकारीहरूसँग छलफल गरेको देखिने दाबी गरिएको छ। साथै केही व्यक्तिगत तस्बिर, पारिवारिक फोटो र परिचयपत्र जस्ता संवेदनशील सामग्री पनि समावेश भएको बताइएको छ।
ह्याकर समूहले यो ‘लीक’ मार्फत इजरायलका गोप्य बैठकसम्बन्धी जानकारी समेत प्राप्त भएको दाबी गरेको छ। यसमा जोर्डन र कतार मा गरिएको भनिएका गोप्य बैठकका विवरण पनि समावेश रहेको उनीहरूको भनाइ छ।
यद्यपि, हालसम्म इसराइल रक्षा निकाय वा पूर्व सेनाप्रमुख हर्जी हलेभीका तर्फबाट यस विषयमा कुनै आधिकारिक पुष्टि वा प्रतिक्रिया आएको छैन।
साइबर सुरक्षा विज्ञहरूका अनुसार यदि दाबी सत्य भएमा यो ठूलो स्तरको सुरक्षा उल्लंघन हुन सक्छ, जसले सैन्य गोपनीयता र राष्ट्रिय सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाउनेछ। तर अहिलेसम्म स्वतन्त्र रूपमा प्रमाणित हुन बाँकी भएकाले घटनालाई सावधानीपूर्वक विश्लेषण गर्नुपर्ने देखिन्छ।
