इस्लामाबाद : अमेरिका र इरान बीच युद्धविरामसम्बन्धी महत्वपूर्ण वार्ता आज इस्लामाबाद मा हुने भएको छ। यस वार्तालाई सम्भावित शान्ति प्रक्रियाको निर्णायक चरणका रूपमा हेरिएको छ।
वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्स ले गर्ने बताइएको छ। अमेरिकी प्रतिनिधिमण्डलमा राष्ट्रपतिको विशेष प्रतिनिधि स्टिभ विटकफ, वरिष्ठ सल्लाहकार जारेड कुशनर र सैन्य अधिकारी ब्रेड कुपर सहभागी हुनेछन्।
इरानको तर्फबाट संसद अध्यक्ष मोहमद बाघेर गालिबाफ, विदेशमन्त्री अब्बास अराघची र उपविदेशमन्त्री मजिद तख्त सहभागी हुने जनाइएको छ।
त्यसैगरी पाकिस्तान का तर्फबाट प्रधानमन्त्री शहबाज शरीफ, सेना प्रमुख आसिम मुनिर, विदेशमन्त्री इसाक डार र राष्ट्रिय सुरक्षा सल्लाहकार आसिम मलिक सहभागी हुनेछन्।
वार्ताको पूर्वसन्ध्यामा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै पाकिस्तान सरकारले इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ।
यसैबीच अमेरिकी सेनाको मध्यपूर्व कमाण्डले पछिल्लो द्वन्द्वमा इरानलाई ठूलो क्षति पुगेको दाबी गरेको छ, जसको प्रभाव दीर्घकालसम्म रहने बताइएको छ। अमेरिकाले यस अवधिमा इरानका विभिन्न स्थानमा १३ हजारभन्दा बढी आक्रमण भएको दाबीसमेत गरेको छ।
यद्यपि युद्धविरामका कारण हाल आक्रमण रोकिएको भए पनि अमेरिकी सेना क्षेत्रमै तैनाथ रहेको र आवश्यक परे पुनः कारबाही गर्न सकिने चेतावनी दिइएको छ। यसले वार्ताको वातावरण अझ संवेदनशील बनाएको विश्लेषकहरूको भनाइ छ।
