दाङ : लुम्बिनी प्रदेशसभा को सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।
त्यसैगरी उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने ले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
यसैबीच, मुख्यमन्त्री चेतनारायण आचार्य ले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक’माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
बैठकमा प्रदेशको शैक्षिक, अनुसन्धान तथा प्रशासनिक संरचना सुदृढ गर्ने उद्देश्यले ल्याइएका विधेयकहरूमा छलफल हुने भएकाले यसलाई महत्वपूर्ण मानिएको छ।
