काठमाडौं : प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा को बैठकले नयाँ उपसभामुख चयन गर्नेछ।
निर्धारित समयभित्र उपसभामुख पदका लागि दुई जनाको मात्र उम्मेदवारी दर्ता भएको छ। यसअनुसार रुवीकुमारी ठाकुर र सरस्वती लामा बीच प्रतिस्पर्धा हुने भएको छ।
श्रम संस्कृति पार्टीकी सांसद ठाकुरको प्रस्तावकमा आर्यन राई रहेका छन् भने समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी निरौला रहेका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही रहेका छन् भने समर्थकमा खुश्बु ओली, ताहिर अली र भरत गिरी रहेका छन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी को १८२ मत रहेको छ। यसकारण उक्त दलको समर्थन पाएमा ठाकुर उपसभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ।
निर्वाचनको नतिजाले आगामी संसदीय शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।
