बाह्रदशी गाउँपालिका–२ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
बिहीबार साँझ करिब ५ बजे सुपोल बास्कीकी श्रीमती ३५ वर्षीया सुनिता बास्कीको आफ्नै घरमा वाइफाइको प्लग जोड्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार प्लग जोड्ने क्रममा उनी नाङ्गो तारमा छोइएपछि अचानक करेन्ट लागेको थियो। करेन्टको झट्का लागेपछि उनको घटनास्थलमै ज्यान गएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापा बाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
