इलाम नगरपालिका ले स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ। चालु आर्थिक वर्ष २०८२–८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा ल्यापटप प्रदान गरिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का का अनुसार अघिल्ला वर्षहरूमा उद्यमशीलता तथा सीप विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमीलाई छनोट गरी अनुदानमा ल्यापटप वितरण गरिएको हो।
कार्यवाहक नगरप्रमुख विष्णुकुमारी लिम्बू दाहाल ले प्रविधिको प्रयोगमार्फत उद्यमीको व्यवसाय सञ्चालनलाई सहज बनाउने तथा डिजिटल माध्यमबाट बजार विस्तार गर्न सहयोग पुग्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको बताइन्। उनका अनुसार विगतमा तालिम लिएका धेरै युवाले व्यवसाय सुरु गरिसकेको अवस्थामा अब प्रविधिगत सहयोगमार्फत उनीहरूको व्यवसायलाई थप सुदृढ बनाउन खोजिएको हो।
यस कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सोही बजेटबाट आवेदन आह्वान गरी छनोट भएका उद्यमीलाई ल्यापटप उपलब्ध गराइएको र आगामी वर्षमा समेत यस्तो कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।
अनुदानमा ल्यापटप पाएपछि उद्यमीहरू पनि उत्साहित भएका छन्। इलामेली ललिपप उद्योगकी सञ्चालक सुस्मा राई ले नगरपालिकाको सहयोगले व्यवसायलाई व्यवस्थित बनाउन र अनलाइन बजार विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
नगरपालिकाले ललिपप उद्योग, मौरीपालन, अचार उद्योग, सैलुन, राइस मिल, सोलार सेवा, सिलाइकटाई, कृषि उपज प्याकेजिङ, चिया प्रशोधन तथा हस्तकला उद्योगलगायत क्षेत्रमा सक्रिय साना तथा मझौला उद्यमीलाई सहयोग गरेको जनाएको छ।
प्रविधिको प्रयोगमार्फत उत्पादनको प्रचारप्रसार, लेखा व्यवस्थापन तथा बजारसँग जोडिन सहज हुने अपेक्षा गरिएको छ। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
