काठमाडौँमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः ठूलो वृद्धि भएको छ। नेपाल आयल निगम ले भारतबाट मूल्य बढेर आएको कारण देखाउँदै बिहीबारदेखि नयाँ मूल्य लागू गरेको हो। नयाँ दरअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ, जसअनुसार पेट्रोलको मूल्य २१६.५० देखि २१९ रुपैयाँ र डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म पुगेको छ। त्यस्तै, खाना पकाउने १४.२ केजी एलपी ग्यासको मूल्य पनि बढेर २०१० रुपैयाँ कायम भएको छ भने आन्तरिक हवाई इन्धनमा प्रति लिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।
निगमका अनुसार मूल्य वृद्धि हुँदाहुँदै पनि अझै प्रत्येक पन्ध्र दिनमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा भइरहेको छ। निरन्तर घाटा बढ्दै गएमा इन्धन आपूर्तिमा समस्या आउन सक्ने भन्दै निगमले उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ।
यस मूल्यवृद्धिको प्रमुख कारण मध्यपूर्व मा जारी युद्धलाई मानिएको छ, जसका कारण पेट्रोलियम पदार्थको ढुवानी प्रभावित भएको छ र विशेषगरी एसिया क्षेत्रमा इन्धन अभावको अवस्था देखिएको छ। यसको प्रभाव नेपालमा पनि परेको छ, जहाँ इन्धन अभावकै कारण सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णयसमेत लागू गरेको छ।
यसअघि सरकारले मूल्य नियन्त्रणका लागि चैत २४ गते भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको थियो। तर अन्तर्राष्ट्रिय बजारको दबाबका कारण मूल्य स्थिर राख्न कठिन भइरहेको देखिएको छ, जसले उपभोक्तामाथि थप आर्थिक भार बढाएको छ।
