काठमाडौं – नेपालको प्रमुख हवाई प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ले यात्रु तथा प्रयोगकर्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै ‘अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (एईडी)’ नामक अत्याधुनिक मेडिकल उपकरण सञ्चालनमा ल्याएको छ।
विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार आकस्मिक स्वास्थ्य समस्यामा परेका यात्रुहरूलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराई सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो। विमानस्थल परिसरमै बेहोस हुने, श्वासप्रश्वास रोकिने वा अन्य गम्भीर समस्या देखिने अवस्थालाई लक्षित गरी यो कदम चालिएको हो।
‘एईडी’ उपकरण विशेषगरी मुटु र श्वासप्रश्वास सम्बन्धी आकस्मिक समस्या भएका बिरामीका लागि अत्यन्त प्रभावकारी मानिन्छ। समयमै उपचार नपाउँदा ज्यान जाने जोखिम हुने भएकाले यस्तो उपकरणले तत्काल जीवनरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यस उपकरणमार्फत बिरामीलाई अस्पताल पुर्याउनु अघि नै प्रभावकारी प्राथमिक उपचार दिन सकिनेछ। सेवा प्रभावकारी बनाउन विमानस्थलले पहिलो चरणमा आफ्ना कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम पनि प्रदान गरेको छ।
विमानस्थलमा रहेका हेल्थ डेस्क, केएमसी हस्पिटल र हाम्स हस्पिटलका स्वास्थ्यकर्मीहरूलाई ‘एईडी’ प्रयोग गर्ने विधि र प्रक्रिया सम्बन्धी तालिम दिइएको कार्यालयले जनाएको छ।

