काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।
रास्वपाले मन्त्री साहको गतिविधिले पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा नकारात्मक असर पु-याएको भन्दै बुधबार नै कारबाहीको सिफारिस प्रधानमन्त्री समक्ष पेस गरेको थियो। साहले स्वास्थ्य बिमा बोर्डका सदस्य रहेकी आफ्नो श्रीमतीलाई मन्त्री पदमा रहेकै बेला नियमित काममा पुनः सक्रिय गराएपछि यो कदम चालिएको हो।
पार्टी विधानको धारा २५ (४) (क) अनुसार सभापतिलाई पार्टीको आदर्श र मर्यादामाथि आँच नपुग्ने जिम्मेवारी दिइएको छ भने, धारा ६९ ले पदको दुरुपयोग भएको अवस्थामा जिम्मेवारीबाट फिर्ता बोलाउने (“राइट टु रिकल”) व्यवस्था गरेको छ। यसै आधारमा रास्वपाले साहलाई पदमुक्त गर्न सिफारिस गरेको हो।
साथै, रास्वपाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो। प्रधानमन्त्री शाहले यस सम्बन्धमा मन्त्री मेहतालाई सचेत गराइसकेको जनाइएको छ।
