काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेखनीय वृद्धि देखिएको छ। आज नेप्से ४८.७१ अंकले बढेर २८५१.२४ बिन्दुमा पुगेर बन्द भएको हो।
बजारमा देखिएको उत्साहसँगै कारोबार रकम पनि उच्च रहेको छ। दिनभरिमा ३३८ कम्पनीका २ करोड ७९ लाख कित्ता सेयर १ लाख ८ हजार ८६९ पटक किनबेच हुँदा कुल ९ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। कारोबारमा आएका २७९ कम्पनीमध्ये २५१ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मात्र घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारमा सकारात्मक मनोविज्ञान हाबी भएको संकेत गर्दछ।
सबै उपसूचक हरियालीमा देखिएका छन्। ‘अन्य’ समूह सबैभन्दा धेरै ३.४३ प्रतिशतले बढ्दा म्युचुअल फण्ड समूह सबैभन्दा कम ०.१३ प्रतिशतले बढेको छ।
आज ८ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यसमा आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावर रहेका छन्।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसपछि रिडी पावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एसवाई प्यानल उच्च कारोबार हुने शीर्ष पाँच कम्पनीमा परेका छन्।
