काठमाडौँ । केपी शर्मा ओलीले आफूविरुद्ध लगाइएको फौजदारी अभियोगमा पर्याप्त आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले १३ दिनसम्म आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन्।
उनले मुद्दा चलाउन आवश्यक प्रमाण नपुगेपछि अन्ततः रिहा भएको उल्लेख गर्दै लेखेका छन्, “सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।”
रिहाइपछि ओलीले आफ्नो पक्षमा आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति सम्मान प्रकट गरेका छन्।
प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन तथा उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।
यसैबीच, आफ्नो रिहाइको माग गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन्। राज्यले बेवास्ता गरेमा आफ्नो पार्टीले नै उपचार खर्च व्यहोर्ने प्रतिबद्धता पनि जनाएका छन्।
स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै उपचार जारी राख्ने उल्लेख गर्दै उनले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
