काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य हाल तीव्र गतिमा अघि बढिरहेको छ। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार दैनिक करिब ४० हजारको हाराहारीमा लाइसेन्स छपाइ भइरहेको छ।
छपाइ कार्यलाई उच्च प्राथमिकतामा राखिएको जनाउँदै हालसम्म करिब २९ लाख लाइसेन्स छपाइ हुन बाँकी रहेको र ती सबै २०८३ साल असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ। यसमध्ये आगामी वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छापिसक्ने योजना रहेको छ भने बाँकी १७ लाख लाइसेन्सको छपाइ प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको छ।
यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री डा विक्रम तिमिल्सिनाले लाइसेन्स छपाइमा कुनै अवरोध नआउने गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका छन्। मन्त्रालयले नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले ल्याएको १० बुँदे सुधारात्मक कार्ययोजनामा समेत यसलाई प्राथमिकतामा राखिएको छ।
मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो योजना अघि बढाइएको हो।
सेवाग्राहीको सहजताका लागि यातायात व्यवस्था विभागले दैनिक छापिएका तथा वितरण हुने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ। यसले सेवाग्राहीलाई आफ्ना लाइसेन्सको अवस्थाबारे सहज जानकारी लिन सहयोग पुग्ने विश्वास गरिएको छ।
छपाइ सम्पन्न भएका लाइसेन्सहरू हुलाक सेवामार्फत देशभरका विभिन्न यातायात कार्यालयमा पठाइने व्यवस्था मिलाइएको छ। यही गतिमा काम जारी रहे लामो समयदेखि देखिएको लाइसेन्स वितरण समस्या निकट भविष्यमै समाधान हुने अपेक्षा गरिएको छ।
