उत्तरपश्चिमी नाइजेरियामा भएका छुट्टाछुट्टै सशस्त्र आक्रमणहरूमा कम्तीमा ६० जनाको ज्यान गएको पुष्टि भएको छ। नाइजर राज्यको शिरोरो क्षेत्रस्थित इरिना सहरमा भएको आक्रमणमा मात्रै कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
त्यस्तै, केब्बी राज्यका विभिन्न सहरहरूमा बन्दुकधारी समूहले गरेको अर्को श्रृंखलाबद्ध आक्रमणमा ४० भन्दा बढी व्यक्तिको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यी आक्रमणहरू योजनाबद्ध रूपमा गरिएको आशंका गरिएको छ।
पछिल्लो समय नाइजेरियाका विभिन्न राज्यहरू गम्भीर सुरक्षा चुनौतीको सामना गरिरहेका छन्। सशस्त्र गिरोहहरूले गाउँहरूमा आक्रमण गरी लुटपाट गर्ने, सर्वसाधारणलाई अपहरण गर्ने जस्ता गतिविधि बढाएका छन्, जसले स्थानीय बासिन्दामा त्रास फैलाएको छ।
विशेषगरी उत्तरपश्चिम क्षेत्रमा सक्रिय उग्रवादी तथा आपराधिक समूहहरूले आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरिरहेका छन्। ती समूहहरूले दक्षिणी क्षेत्रमा समेत गतिविधि बढाउने संकेत देखिएपछि सुरक्षा अवस्था झन् जटिल बन्दै गएको विश्लेषण गरिएको छ।
