काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई समर्थन गर्ने निर्णय गरेको छ। सभामुखमा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालय निर्विरोध निर्वाचित भइसकेपछि उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार रास्वपाले यो कदम चालेको हो।
यसअघि रास्वपाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि सघाउने विषयमा छलफल गरेको थियो। तर अन्तिम निर्णयमा भने राप्रपालाई समर्थन गर्ने सहमति बनेको हो, जसले उपसभामुख निर्वाचनको समीकरण परिवर्तन गरेको छ।
राप्रपाले उपसभामुख पदका लागि सरस्वती लामालाई उम्मेदवार बनाउने भएको छ। समानुपातिक प्रणालीबाट सांसद बनेकी लामा राप्रपाभित्र स्थापित नेतृका रूपमा चिनिन्छिन्। उनी नेता बुद्धिमान तामाङकी श्रीमती पनि हुन्।
उता श्रम संस्कृति पार्टीले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी गरिरहेको छ। तर प्रमुख दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा नेकपाले उम्मेदवारी दिने वा नदिने विषय अझै स्पष्ट भइसकेको छैन।
रास्वपाको समर्थन प्राप्त भएसँगै सरस्वती लामा उपसभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ, जसले आगामी संसदीय समीकरणमा नयाँ संकेत दिने विश्लेषण गरिएको छ।
