काठमाडौँ— नेपाल उद्योग वाणिज्य महासङ्घ का उपाध्यक्ष हेमराज ढकाल ले मुलुकमा जुनसुकै राजनीतिक व्यवस्था आए पनि आर्थिक विकास र निजी क्षेत्रको प्रवर्द्धन बिना सरकार र व्यवस्था टिकाउ हुन नसक्ने बताएका छन्। राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक क्षेत्र सुदृढ नभएसम्म जनतामा देखिएको अपेक्षा पूरा हुन नसक्ने स्पष्ट पारे।
उपाध्यक्ष ढकालले सङ्घीय संरचना र नयाँ संविधानले जनतामा जगाएको आशा आर्थिक क्षेत्रमा अझै प्रतिविम्बित हुन नसकेको उल्लेख गर्दै नयाँ सरकारले आर्थिक सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रसँग सहकार्यबिना समग्र विकास सम्भव नरहेको धारणा व्यक्त गरे।
निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताउँदै उनले गत भदौ २४ गते निजी क्षेत्रमाथि भएको आक्रमणमा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिए। निजी क्षेत्रलाई मात्र दोषी ठहर गर्ने प्रवृत्तिले लगानीको वातावरण बिगार्ने र आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने उनको भनाइ छ।
पूर्वाधार विकासको अवस्थाप्रति टिप्पणी गर्दै उनले देशभर सडक विस्तार भए पनि प्रमुख राजमार्गहरूको अवस्था कमजोर रहेको औँल्याए। गुणस्तरीय कनेक्टिभिटीको अभावका कारण उद्योगी–व्यवसायीको ढुवानी लागत अत्यधिक बढेको र प्रतिस्पर्धात्मक क्षमता घटिरहेको उनले बताए।
ढकालले समग्र विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार आवश्यक रहेको पनि बताए। गुणस्तरीय शिक्षा काठमाडौँ केन्द्रित मात्र नभई सातै प्रदेशमा समान रूपमा विस्तार गर्नुपर्नेमा उनले जोड दिँदै मानव संसाधन विकासलाई दीर्घकालीन आर्थिक वृद्धिको आधारका रूपमा लिनुपर्ने धारणा राखे।
