काठमाडौँ— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा आपूर्ति र मागको अवस्थाअनुसार विभिन्न कृषिउपजको मूल्य निर्धारण गरिएको हो।
आज सार्वजनिक मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, सानो (लोकल) रु २८ र सानो (भारतीय) रु ३० कायम भएको छ। आलु रातो प्रतिकिलो रु २० र भारतीय आलु रु २४ निर्धारण गरिएको छ भने प्याज (भारतीय) रु ३७ प्रति किलो रहेको छ। गाजर, बन्दा र काउलीजस्ता तरकारीहरू पनि मध्यम मूल्यमा कारोबार भइरहेको समितिले जनाएको छ।
त्यसैगरी, भन्टा, सिमी, करेला, लौका, घिरौँला, चिचिन्डो, फर्सी लगायतका हरियो तरकारीको मूल्य प्रतिकिलो रु ४० देखि रु १२० सम्म निर्धारण गरिएको छ। विशेष गरी घिउ सिमी (राजमा) र झिगनी जस्ता केही तरकारीको मूल्य तुलनात्मक रूपमा उच्च देखिएको छ।
हरियो सागसब्जीतर्फ रायो, पालुङ्गो, मेथी, तोरी साग लगायतको मूल्य प्रतिकिलो रु ५० देखि रु ९० सम्म रहेको छ। च्याउतर्फ कन्य च्याउ रु २२० र डल्ले च्याउ रु ३५० प्रतिकिलोमा बिक्री भइरहेको छ भने सिताके च्याउको मूल्य प्रतिकिलो रु १,००० सम्म पुगेको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा दर्जनको रु २२०, कागती रु ३००, अनार रु ३५० र अङ्गुर (कालो) रु ३५० कायम भएको छ। सुन्तला (भारतीय) प्रतिकिलो रु १५० र तरबुजा रु ५० मा उपलब्ध रहेको छ।
मसला तथा अन्य वस्तुतर्फ अदुवा प्रतिकिलो रु ९०, हरियो खुर्सानी रु ९०, अकबरे खुर्सानी रु ८०० र लसुन (चाइनिज) रु ३१० निर्धारण गरिएको छ। त्यस्तै, ताजा माछा (रहु) प्रतिकिलो रु ३४० र सुकेको माछा रु १,००० सम्ममा कारोबार भइरहेको छ।
समितिका अनुसार मूल्यहरू दैनिक रूपमा आपूर्ति, मौसम र मागअनुसार परिवर्तन हुन सक्ने भएकाले उपभोक्ताले खरिद गर्दा अद्यावधिक मूल्यबारे जानकारी लिनुपर्ने सुझाव दिइएको छ।
