सिराहा । सिराहा नगरपालिका–१५ बुधौराबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
पक्राउ पर्नेहरूमा सिरहाको धनगढीमाई नगरपालिका–३ का १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका–१२ का १९ वर्षीय अभिषेक मुखिया र सोही ठाउँका २१ वर्षीय अरविन सिंह रहेका छन्।
प्रहरीका अनुसार गत चैत २४ गते साँझ करिब ७ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१–००४ प २६८८८८ नम्बरको मोटरसाइकललाई शङ्कास्पद ठानेर चेकजाँच गर्दा लागुऔषध फेला परेको हो।
मोटरसाइकलको इन्धन ट्याङ्कीको बिर्कोभित्र लुकाएर राखिएको तीन वटा प्लास्टिकको पोका भित्र ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको पदार्थको तौल प्लास्टिकसहित ४ ग्राम ६० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ५०० मिलिग्राम रहेको छ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखेर थप अनुसन्धान भइरहेको छ। उनीहरूलाई चैत २५ गते सिराहा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक ओम प्रकाश पण्डितले जानकारी दिएका छन्।
