भैरहवा । रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोमा छापा मार्दै ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार राति गरिएको नियमित चेकजाँचका क्रममा क्यासिनोभित्र जुवा गतिविधि भइरहेको सूचनाका आधारमा कारबाही गरिएको हो।
पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिका–८ का ३१ वर्षीय मुकेश कुमार श्रेष्ठ, ललितपुर गोदावरी नगरपालिका–१५ का ४१ वर्षीय अजय केसी, बुटवल उपमहानगरपालिका–१२ का ३५ वर्षीय गोबिन्द शर्मा, सोही पालिका वडा नम्बर ११ का ३६ वर्षीय चन्दप्रसाद श्रेष्ठ, वडा नम्बर ९ का ३५ वर्षीय बासुदेव गौतम र ३५ वर्षीय कृष्ण गौतम रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये मुकेश र अजय जुवा सञ्चालन तथा खेलाउने कार्यमा संलग्न थिए भने बाँकी चार जना जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए।
छापाका क्रममा प्रहरीले उनीहरूको साथबाट २ लाख १७ हजार ३९० रुपैयाँ नेपाली नगद, ३ हजार ५ सय रुपैयाँ भारतीय मुद्रा, करिब १ लाख २५ हजार बराबरको क्यासिनो चिप्स, ६ थान मोबाइल फोन र ७ गड्डी तास बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले क्यासिनो सञ्चालन र अवैध जुवा गतिविधिबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
